काठमाडौँ : शुक्रबार नवीन कर्जा सुरक्षण कार्यक्रमहरु मार्फत लघु उद्यमीहरुको प्रबर्धन गरी अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यले निक्षेप तथा कर्जा सुरक्षण कोषले लघुवित्तका सिइओ र डिसिइओसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा घ बर्गका लघुबित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत तथा उच्च ओहोदामा आसिन प्रतिनिधि, निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु र कोषका कर्मचारीहरु सहभागी भएका थिए ।
भक्तपुरको होटल हेरिटेजमा भएको कार्यक्रममा बैंक वित्तीय संस्थाका प्रमुख कार्यकारीहरु तथा उच्च पदस्थ कर्मचारीहरु, कोषका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत तथा अन्य कर्मचारीहरु लगायत विभिन्न मिडिया हाउसका मिडियाकर्मीहरु गरी ५० जनाभन्दा बढीको सहभागीता रहेको थियो ।

कोषका अधिकृत दिनेश कोइरालाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा कोषका प्रबन्धक मन्दिरा थपलियाले सहभागीहरुलाई कोषको संक्षिप्त परिचय दिँदै कोषद्वारा संचालित पुराना तथा नवीन कार्यक्रमहरुको बारेमा जानकारी गरेका थिए । त्यसलाई तथ्याङ्कको माध्यमबाट उजागर गर्दै कोषले जोखिम व्यवस्थापनका लागि हाल अबलम्वन गरेका उपाय तथा जोखिम व्यवस्थापनका लागि प्रस्तावित भावी योजनाको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रमको खुला छलफलमा अधिकांस सहभागीहरुले कोषले आधुनिक प्रविधि अवलम्बन गरी क्षतिपूर्ति दाबी भुक्तानीलाई सरलीकृत तथा छिटो बनाउन सुझाव दिएका थिए । मृत्यु दाबीको हकमा कोषको कर्जा सुरक्षण नियमावलीमा संशोधन गरेरै भए पनि क्षतिपूर्तिलाई व्यवहारिक बनाउने सुझाव जोडदार रूपमा उठाइएको थियो । कोषले आफ्नो क्षमता अभिबृद्धि गर्दै सुरक्षण कार्यक्रमहरु प्रभावकारी बनाउन आवश्यक पहल गर्नुपर्ने समय आइसकेको टिप्पणी कार्यक्रममा उठाइएको थियो ।
कार्यक्रममा सहभागिहरुबाट आएका विभिन्न टिप्पणीहरुको बारेमा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले प्रष्ट पार्दै सहभागीहरुबाट प्राप्त सुझावहरुलाई मनन गर्दै सुरक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न कोष कटिबद्ध रहेको र वित्तीय संस्थाहरुको सुझाव तथा सहयोग सँधै कोषका लागि अपरिहार्य रहने हुँदा सहयोगको सदैव अपेक्षा सहित सहित कार्यक्रम समापन गरिएको थियो ।




