पोखरा : पोखरा–जोमसोम हवाई मार्गमा नियमित उडान गर्दै आएका तारा एयर र समिट एयरले नियमित सेवा स्थगित गरेका छन्। विमानको मर्मतसम्भार, सीमित जहाज संख्या र यात्रुको चाप घटेपछि दुवै कम्पनीले नियमित उडान तालिका रोकेका हुन्। यद्यपि, आवश्यकताअनुसार चार्टर उडान भने सञ्चालन हुने जनाइएको छ।
जोमसोम विमानस्थलका प्रमुख विश्वराज शर्माका अनुसार तारा एयरले नियमित उडान बन्द गरिसकेको छ भने समिट एयरले पनि सोमबारदेखि सेवा स्थगित गरेको हो। उनले नियमित उडानको तालिका रोकिए पनि चार्टर उडानलाई निरन्तरता दिने व्यवस्था रहेको जानकारी दिए।
विगतका वर्षमा कात्तिक महिनासम्म नियमित उडान हुने पोखरा–जोमसोम हवाई सेवा यस वर्ष भने अपेक्षाभन्दा चाँडै प्रभावित भएको छ। निजी वायुसेवा कम्पनीसँग ट्विनअटर विमानको संख्या सीमित हुनु, जहाज मर्मत गर्नुपर्ने अवस्था र अन्य हिमाली गन्तव्यमा पर्यटकको चाप बढ्नुले उडान व्यवस्थापनमा असर पारेको बताइएको छ।
विमानस्थल प्रमुख शर्माका अनुसार लुक्लालगायतका हिमाली गन्तव्यमा पर्यटकको आवागमन बढे पनि मुस्ताङमा बाढीपहिरोका घटनापछि अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश प्रवाह हुँदा पर्यटकको संख्या घटेको थियो। त्यसको असर पोखरा–जोमसोम हवाई सेवामा समेत परेको उनको भनाइ छ।
पोखरा–जोमसोम हवाई मार्गमा मौसम पनि नियमित उडान सञ्चालनका लागि प्रमुख चुनौती बन्दै आएको छ। हुस्सु, हिमपात, वर्षा र तीव्र हावाहुरीका कारण दृश्य क्षमता कमजोर हुँदा उडान प्रभावित हुने गरेको छ। सामान्यतया प्रतिकूल मौसमका कारण असारदेखि असोजसम्म सेवा प्रभावित हुने गरेकोमा हिउँदमा पनि मौसमको अवस्थाले उडानमा अवरोध पुर्याउने गर्छ।
मौसम अनुकूल रहेको अवधिमा समेत यो मार्गमा सीमित समयभित्र मात्रै उडान गर्न सकिने अवस्था छ। दुवै एयरलाइन्सले बिहान करिब ११ बजेसम्म उडान सञ्चालन गर्दै आएका थिए। यसअघि यात्रुको माग र मौसमको अवस्थाअनुसार प्रत्येक कम्पनीले दैनिक बढीमा पाँचवटासम्म उडान भर्ने गरेका थिए।
मुस्ताङको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य मुक्तिनाथ पुग्ने पर्यटकले हेलिकप्टर सेवा पनि प्रयोग गर्दै आएका छन्। त्यस्तै, उपल्लो मुस्ताङस्थित दामोदर कुण्ड क्षेत्रमा जाने पर्यटकका लागि सञ्चालन हुने हेलिकप्टर उडानमा सुरक्षा निकायका प्रतिनिधि अनिवार्य रूपमा सहभागी हुनुपर्ने व्यवस्था रहेको जनाइएको छ।
निजी वायुसेवा कम्पनीबाहेक नेपाली सेनाले पनि सामान ढुवानी तथा चार्टर उडान गर्दै आएको छ। बेनी–जोमसोम सडकखण्ड अवरुद्ध हुँदा हवाई यात्रुको माग बढ्ने गरेको छ। सडक यातायात सहज भएका बेला भने यात्रुको संख्या घट्ने भएकाले निजी वायुसेवा कम्पनीले आफ्ना विमान बढी माग भएका अन्य गन्तव्यमा परिचालन गर्ने गरेका छन्।
नियमित उडान स्थगित भएपछि पोखरा–जोमसोम यात्रा गर्ने पर्यटक तथा स्थानीय यात्रुले चार्टर उडानको उपलब्धता र मौसमको अवस्था बुझेर यात्रा योजना बनाउनुपर्ने देखिएको छ।