कामना सेवा विकास बैंकको २०औँ वार्षिकोत्सवमा देशभर रक्तदान कार्यक्रम आयोजना हुँदै
२०८३ कात्तिक १३, शुक्रबार
काठमाडौं : कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसर पारेर देशका विभिन्न सहरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत रगत अभाव न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले देशभरका विभिन्न क्षेत्रीय तथा शाखा कार्यालयमार्फत कार्यक्रम सञ्चालन गर्न लागेको हो।
बैंकका अनुसार कोशी प्रदेशको विराटनगरमा कात्तिक १५ गते रक्तदान कार्यक्रम आयोजना हुनेछ। त्यस्तै, कात्तिक १८ गते काठमाडौंको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयसहित मधेश प्रदेशको बर्दिवास, नारायणगढ क्षेत्रको कावासोती, पोखराको न्युरोड, बुटवल, घोराही र महेन्द्रनगरमा रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा देखिएको रगत अभावलाई ध्यानमा राख्दै कार्यक्रम आयोजना गर्न लागिएको बैंकले जनाएको छ। बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष नियमित रूपमा बृहत् रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यसैबीच, बैंकले २०औँ वार्षिकोत्सवकै अवसरमा छैटौँ अन्तरबैंक तथा वित्तीय संस्था स्तरीय फुटसल प्रतियोगिता पनि आयोजना गर्ने भएको छ। कात्तिक १४ र १५ गते काठमाडौंको धन्वन्तरी फुटसल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा आर्थिक पत्रकारितासँग सम्बन्धित संस्था सेजन, नाफिज र इमानसहित ३० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका टोली सहभागी हुनेछन्।