भदौ २१,काठमाडौं : एसिया कप–२०२३ को सुपर फोरमा पाकिस्तानले विजयी सुरुआत गरेको छ। सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बंगलादेशविरुद्ध ७ विकेटको सहज जित निकाल्यो।
बुधबार पञ्जाबको गद्दाफी स्टेडियममा १९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३९.३ ओभर खेल्दै तीन विकेटको क्षतिमा भेटाएको थियो। पाकिस्तानका इमाम उल हकले सर्वाधिक ७८ रन बनाएका थिए। मोहम्मद रिजवान ६३ र अघा सलमान १२ रनमा रन बनाएका थिए। फखार जमाम २० र बाबर आजम १७ रनमा आउट भएका थिए ।
बलिङमा बङ्लादेशका मेहेदी हसन, शोरिफुल इस्लाम र तस्किन अहमदले १/१ विकेट लिएका थिए।
त्यसअघि टस जितेर ब्याटिङमा आएको बंगलादेशले ३८.४ ओभरमा सबै विकेट गुमाएर १९३ रनको योगफल खडा गरेको थियो। बंगलादेशका मुसफिकर रहिमले ६४ रन बनाएका थिए। कप्तान साकिब अल हसनले ५३ रन थपेका थिए । मोहम्मद नैमले २० रन जोड्दा लिटोन दास र समिम हुसैनले समान १६ रन बनाएका थिए।
बलिङमा पाकिस्तानका हरिश रौफले ४ विकेट, नसिम शाहले ३ विकेट, शहिन शाह अफ्रिदी र फहिम अस्रफले १/१ विकेट लिएका थिए।
सुपर फोरमा पाकिस्तान, बङ्लादेश, भारत र श्रीलङ्का छन्। सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्। सुपर फोरका शीर्ष दुई टिमले १७ सेप्टेम्बरमा उपाधिका लागि भिड्नेछन्।



