काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक विजेता लुम्बिनी लायन्सले जितसहित प्रतियोगिताको सुरुवात गरेको छ। टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको हो।
सुदूरपश्चिमले प्रस्तुत गरेको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमै ३ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीको जितमा डार्सी सर्टले ४० रन र आशिफ शेखले ३२ रनको योगदान दिए।
बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले दुई विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे। तर, लुम्बिनीका ब्याटरलाई रोक्न नसक्दा सुदूरपश्चिमले खेल आफ्नो पक्षमा पार्न सकेन।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १७ ओभर २ बलमा ८७ रनमै अलआउट भएको थियो। टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।
लुम्बिनीका किशोर महतोले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। शेर मल्लले तीन विकेट झारेपछि सुदूरपश्चिमको ब्याटिङ लाइनअप दबाबमा परेको थियो। यस जितसँगै लुम्बिनीले नयाँ सिजनमा आफ्नो दाबेदारी प्रस्तुत गरेको छ। साविक विजेताले पहिलो खेलमै सहज जित निकाल्दा सुदूरपश्चिम भने ब्याटिङमा कमजोर देखियो।