काठमाडौँ : एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हात पारेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले क्यानडालाई ९ विकेटले जित गरेको हो। नेपालका ओपनर ब्याटर अनिल साह र भीम सार्कीले नटआउट १८९ रुनको कीर्तिमानी साझेदारी गरेका छन्।
एकदिवसीय क्रिकेटमा नेपालको सबैभन्दा ठूलो साझेदारी हो। यसअघि एकदिवसीय क्रिकेटमा गत जुनमा जिम्बाब्वेविरुद्ध कुशल भुर्तेल र असिफ शेखले पहिलो विकेटका १७१ रनको साझेदारी गरेका थिए।
जितका लागि २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.३ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि अनिल साह र भीम सार्कीले शतक प्रहार खेलेका थिए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दूबै खेलाडीको यो पहिलो शतक बनाएका हुन्। नेपालका लागि अनिल साहले ११२ रन र भीम सार्कीले १०१ रन बनाएका थिए तथा कुशल भुर्तेलले १३ रनको योगदान दिएका थिए।
त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनाएको हो। क्यानडाका लागि नभ्नीत धलिवालले ५० रुन, निखिल दत्तले ४५ रुन र साद बिन जफरले ३१ रन बनाएका थिए।
बलिङमा नेपालका हेमन्त धामीले ३ विकेट लिए साथै कुशल मल्लले २ विकेट तथा ललित राजवंशी र आकाश चन्दले १/१ विकेट लिए। यस अघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।
यो शृङ्खला लगत्तै नेपालले नामिबिया र नेदरल्याण्ड्स सम्मिलत त्रिकोणात्मक लिग टु शृङ्खला खेल्नेछ। यो खेल यही फागुन ३ देखि १३ गतेसम्म कीर्तिपुरमा हुनेछ। नेपालले फागुन ३ र ७ गते नामिबिया तथा फागुन ५ र १३ गते नेदरल्याण्ड्ससँग खेल्नेछ।