काठमाडौँ : आइसिसी क्रिकेट विश्वकप लिग-२ को पहिलो शृङ्खलाको अन्तिम खेलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै छन्। आज त्रिवि मैदान कीर्तिपुरमा नेपाल र नेदरल्यान्ड्स बिचको खेल बिहान सवा ९ बजेदेखि सुरु हुनेछ।
दुवै टोलीले यो शृङ्खलामा यसअघि एक/एक खेल जितेका छन्। नेपाल र नेदरल्यान्ड्सको ३ खेलमा समान २–२ अङ्क छ भने नामिबियाले ४ मध्ये ३ खेल जित्दै ६ अङ्कका साथ लिग–२ को शीर्ष स्थानमा छ।
पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो भने आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो। त्यस्तै,तेस्रो खेलमा नामिबियासँग नेपाल २ विकेटले हारेको थियो र नेदरल्यान्ड्सले आफ्नो दोस्रो खेलमा नामिबियालाई ७ विकेटले हराएको थियो। तर, अस्ति शुक्रवार भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले हराएको थियो।
नेपालको टोलीमा रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिलकुमार साह, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, देव खनाल रहेका छन्।
नेदरल्यान्ड्सको टोलीमा म्याक्स ओडाउड, विक्रमजित सिंह, नोआह क्रस, शरिज अहमद, आर्यन दत्त, तेजा निडामानिरु, स्कट एडवाड्र्स (कप्तान), माइकल लेभिट, भिभियन किंग्मा, वेस्ली ब्यारेसी, स्याब्रान्ड एंगेलब्रेक्ट, रोलेफ भान डर मर्वे, बास डि लिडे, क्याइल केलिन, ओलिभर एलेनबास रहेका छन्।



