असोज १४, काठमाडौं : १९ औं एसियाली खेलकुद अन्तर्गत टी २० क्रिकेटमा नेपालले माल्दिभ्सविरुद्ध विशाल जित हासिल गरेको छ। नेपाल समूह ए बाट अपराजित रहँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो। चीनमा जारी एसियाली खेलकुद अन्तर्गत आज भएको खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनको अन्तरसहित पराजित गरेको हो।
जितका लागि २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा अलआउट भयो। माल्दिभ्सका घानी अब्दुलले ३४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए। बलिङमा नेपालका लागि अभिनाश बोहराले ६ विकेट लिएका थिए। सन्दीप लामिछाने, सोमपाल कामी, गुल्सन झाले र कुशल भुर्तेलले १/१ विकेट लिएका थिए।
हाङझाउ क्रिकेट ग्राउन्डमा टस जितेको पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा २१३ रन बनाएको हो।
नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका थिए। नेपालका लागि कप्तान रोहित पौडेलले ५२ रनमा र कुशल मल्लले ४७ रन बनाएका थिए। गुल्सन झालेले ३५ रन,कुशल भुर्तेल ३५ रन, विनोद भण्डारी १३ रन, सन्दीप जोरा ५ रन आसिफ शेख ६ रन र दीपेन्द्रसिंह ऐरी ६ रन बनाएका थिए।
बलिङमा माल्दिभ्सका बाडेउले ३ विकेट लिन सफल भएका थिए।
क्वाटरफाइनलमा ५ टेस्ट टोली भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाले सोझै मौका पाएको थिए। समूह सी बाट मलेसिया क्वाटरफाइनलमा आएको छ । समूह बी बाट आज जापान र हङकङबीच प्रतिस्पर्धा हुँदैछ। उक्त खेलको विजेता टोली क्वाटरफाइनलमा आउनेछ।
क्वाटरफाइनलको ड्र सोमबार हुनेछ । क्वाटरफाइनलका खेलहरु मंगलबार र बुधबार हुनेछन्। शुक्रबार सेमिफाइनल र फाइनल शनिबार हुनेछ।



