असोज १८, काठमाडौं :१३ औँ संस्करण आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि भारतको नरेन्द्र मोदी स्टेडियममा सुरु हुँदैछ। विश्वकपको उद्घाटन खेलमा नेपाली समय अनुसार आज दिउँसो सवा २ बजे इङ्ल्यान्ड र न्युजिल्यान्ड खेल्दैछन्।
विश्वकपमा भारत, अफगानिस्तान, अस्ट्रेलिया, बङ्लादेश, इङ्ग्ल्यान्ड, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलङ्का गरी १० वटा देश सहभागी छन्। आजदेखि शुरु हुने विश्वकप आउँदो नोभेम्बर १९ तारिखसम्म ४६ दिन चल्नेछ।
विश्वकपका खेलहरू भारतका १० वटा सहर–अहमदाबाद, धर्मशाला, नयाँ दिल्ली, मुम्बई, पुने, चेन्नई, हैदराबाद, कोलकाता, लखनउ र बेङ्लोरमा हुनेछन्। एकदिवसीय विश्वकपमा सबैभन्दा सफल टोली अस्ट्रेलिया हो। अस्ट्रेलियाले पाँच पटक विश्व कप जितेको छ। भारत र वेस्ट इन्डिजले समान २/२ पटक तथा श्रीलङ्का, पाकिस्तान र इङ्ल्यान्डले १/१ पटक उपाधि जितेका छन्।
राउन्ड रोबिनका आधारमा प्रतियोगिता हुने भएकाले सबै देशले एक अर्कासँग खेल्नेछन्। प्रतियोगितामा १० वटा टोलीबीच ४८ खेल हुनेछ। शीर्ष चारमा पर्ने देश सेमिफाइनलमा पुग्नेछन्। एकदिवसीय विश्वकपको विजेताले ४० लाख डलर, उपविजेताले २० लाख डलर र सेमिफाइनलमा पराजित हुनेले ८ लाख डलर पुरस्कार पाउनेछन्।



