असोज २२,काठमाडौँ : इजरायलमा रहेकी नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले आफू सुरक्षित रहेको बताएकी छन्।
सावित्रा हाल इजरायली क्लब होपोएल रानानाबाट व्यावसायिक फुटबल खेलिरहेकी छन्। चीनको हाङचोउमा सम्पन्न एसियाली खेलकुदमा सहभागी भएर फर्किएलगत्तै सावित्रा क्लबमा फर्किएकी थिइन्। गत बिहीबार भएको इजरायलको महिला लिगमा सावित्राकै गोलको मद्दतमा रानाना हारबाट जोगिएको थियो।
रानानाले होपोएल काटामोनसँग २/२ गोलको बराबरी खेलेको हो। आगामी बुधबार रानानाले तेल अभिभसँग खेल्ने तालिका थियो। तर, एक साताका लागि लिग स्थगित भएको सावित्राले जानकारी दिइन्। हाल आफू तेल अभिभस्थित नेपाली दूतावासमा कार्यरत कर्मचारीसँगै रहेको बताइन्।
क्लबबाट खेल्ने विदेशी खेलाडी स्वदेश फर्कन चाहिरहेको र व्यवस्थापनले पनि पहल गरिरहेको सावित्राको भनाइ छ। भारतीय खेलाडीसँगै आफूलाई पनि फर्काउने प्रयासमा क्लब व्यवस्थापन रहेको उनले उल्लेख गरिन्। नेपालीहरु लिन विमान आए त्यसमै नेपाल फर्कने तयारीमा रहेको सावित्राले जनाइन्। सावित्रा युरोपियन लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन्।



