काठमाडौँ : एक दिवसीय शृंखलाअन्तर्गत दोस्रो खेलमा आज आयरल्यान्ड 'ए' ले नेपाल ‘ए’ टोलीलाई १ सय ७५ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ३८.४ ओभरमा १ सय ७४ रन बनाउँदा अल आउट भयो। आयरल्यान्ड 'ए' का गाभिन हाेएले ५० रन, कप्तान निल रकले ४५ रन, लायम म्याककार्थीले ३५ रन बनाएका थिए।
बलिङमा नेपालका लागि रिजन ढकाल र शाहब आलमले समान ३-३ विकेट लिएका थिए भने मौसम ढकालले २ विकेट तथा कमलसिंह ऐरीले १ विकेट लिएका थिए।
१५७ रनको लक्ष्य पाएको पहिलो खेलमा नेपाल २१ रनले पराजित हुन पुगेको थियो। सिरिज जोगाइराख्न नेपालले आजको खेल जित्नुपर्ने हुन्छ भने अन्तिम खेल आइतबार हुनेछ।
यसअघि नेपाल 'ए' टोलीसँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्ड 'ए' ले २–१ ले जितेको थियो।



