काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलूरुलाई ६ विकेटको सानदार जित हात पारेको छ। जितसँगै राजस्थान ४ खेलमा अपराजित रहेर शीर्ष स्थानमा छ भने बेंग्लोर ५ खेलमा ४ मा हार र १ मा जितसहित आठौं स्थानमा छ।
बेंगलूरुले दिएको १ सय ८४ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। राजस्थानका लागि जोस बटलरले अन्तिम बलमा छक्का प्रहार गर्दै शतक बनाएका थिए। बटलरले ५८ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक १०० रन बनाएका थिए भने कप्तान संजु स्यामसन ४२ बलमा ६९ रन बनाएका थिए।
बलिङमा बेंग्लोरका लागि रिस टोप्ली २ विकेट, यश दयाल र मोहम्मद शिराजले समान १/१ विकेट लिएका थिए।
त्यसअघि जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलूरुले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो। बेंगलूरुका लागि विराट कोहलीले १ सय १३ रनको सर्वाधिक शतकीय पारी खेलेका थिए भने फाफ डु प्लेसिस ४४ रन बनाएका थिए।
बलिङमा राजस्थानका लागि युजभेन्द्र चहलले २ विकेट तथा नान्द्रे बर्गरले १ विकेट लिएका थिए।



