काठमाडौँ : भारतमा जारी त्रिकोणात्मक टी–२० फ्रेन्डसिप कपको उपाधि नेपालले जितको छ। भारतको वापीमा भएको खेलमा गुजरातमाथि नेपालले १८ रनको जित निकाल्दै नेपालले ‘एसएमएस फ्रेन्डसिप कप’को उपाधि जितेको छ।
नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको गुजराजले २० ओभरमा ८ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो। गुजरातका लागि कप्तान उमांगले सर्वाधिक ४० रन बनाएका थिए भने आर्य देशाईले ३६ रन, रुद्र पटेल १७ रन, जयमित पटेल र हर्ष देशाईले समान १५/१५ रन बनाएका थिए।
बलिङमा नेपालका लागि अभिनाष बोहोरा सर्वाधिक ३ विकेट लिएका थिए। यसैगरी दीपेन्द्रसिंह ऐरीले २ विकेट लिएका थिए भने करण केसी र कुशल मल्लले समान १/१ विकेट लिएका थिए।
यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७४ रन बनाएका थिए। यस्तै, ओपनर आसिफ शेख ३४ रन, कुशल भुर्तेल १९ रनकुशल मल्लले ३१ रन, सन्दीप जोरा ७ रन तथा दीपेन्द्रसिंह ऐरी ७ रन बनाएका थिए।
बलिङमा गुजरातका लागि स्नेह पटेल, तेजास पटेल, जयमीत पटेलले र जाला युवराजसिंहले समान १–१ विकेट लिएका थिए।
प्रतियोगितामा नेपाल तथा भारतको बारोडा र गुजरात टोली सहभागी थिए। नेपाल अब एसिसी प्रिमियर कप खेल्न ओमान प्रस्थान गर्नेछ।



