काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले लगातार दोस्रो जित हात पारेको छ। गए राति भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरमाथि ७ विकेटको सानदार जित हात पारेको छ। जितसंगै मुम्बई ५ खेलमा ४ अङ्क सहित सातौँ स्थानमा छ भने बेंगलोर ६ खेलमा २ अङ्क सहित नवौँ स्थानमा छ।
बेंगलोरले दिएको १९७ रनको लक्ष्य मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। मुम्बईका ईशान किशनले सर्वाधिक ६९ रन बनाएका थिए। यस्तै, सूर्यकुमार यादवले ५२ रन, रोहित शर्मा ३८ रन, हार्दिक पान्ड्या २१ र तिलक बर्मा १६ रन बनाएका थिए।
बलिङमा बेंगलोरका लागि आकाश दीप, विजयकुमार वैश्यक र विल ज्याक्सले समान १/१ विकेट लिएका थिए।
त्यसअघि वानखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९६ रन बनाएको थियो। आरसिबिका लागि कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ६१ रन बनाएका थिए। यस्तै,दिनेश कार्तिकले ५३ रन, रजत पतिडरले ५१ रन,विल ज्याक्स ८ रन, तथा विराट कोहली ३ रन बनाएका थिए।
मुम्बईका जस्प्रित बुमराहले सर्वाधिक ५ विकेट लिएका थिए भने जेराल्ड कोट्जी, आकाश माधवाल र श्रेयस गोपालले समान १/१ विकेट लिएका थिए।



