काठमाडौँ : ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा आज मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थियो।
मलेसियाका लागि कप्तान विरनदीप सिंहले सर्वाधिक ७२ रन बनाएका थियो। यस्तै, शर्विम मुनिआन्डीले ४१ रन, मोहम्मद अमिरले १६ रन, सैयद अजिजले ३ रन र नजमुस साकिबले ५ रन बनाएका थियो। दोस्रो विकेटको लागि विरनदीप सिंह र शर्विम मुनिआन्डी ८२ रनको साझेदारी गरेका थिए। शर्विन अभिनाश बोहराको योर्करमा बोल्ड भएका थिए।
बलिङमा नेपालका लागि स्पिनर दीपेन्द्रसिंह ऐरीले कसिलो बलिङ गर्दै ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिएका थिए भने अभिनाश बोहराले १ विकेट लिएका थिए।
नेपालको प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा रहेका छन्।



