काठमाडौँ : नेपालले एसीसी प्रिमियर कप २०२४ मा मलेसियालाई ५ विकेटले हराउँदै सानदार विजयी सुरुवात गरेको छ।
मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ३२ रन बनाएका थियो। यस्तै, रोहित पौडेलले २८ रन, कुशल भुर्तेलले २४ रन, दीपेन्द्रसिंह ऐरीले २० रन गुलशन झाले १९ रन र सन्दीप जोरा १२ रन तथा कुशल मल्लले ७ रन बनाएका थिए।
बलिङमा मलेसियाका लागि सर्वाधिक वीरन्ददीप सिंहले ३ विकेट लिएका थिए। यस्तै, पवनदीपसिंह र मोहम्मद वाकिफले समान १/१ विकेट लिएका थिए।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थियो। मलेसियाका लागि कप्तान विरनदीप सिंहले सर्वाधिक ७२ रन बनाएका थियो। यस्तै, शर्विम मुनिआन्डीले ४१ रन, मोहम्मद अमिरले १६ रन, सैयद अजिजले ३ रन र नजमुस साकिबले ५ रन बनाएका थियो। दोस्रो विकेटको लागि विरनदीप सिंह र शर्विम मुनिआन्डी ८२ रनको साझेदारी गरेका थिए। शर्विन अभिनाश बोहराको योर्करमा बोल्ड गरेका थिए।
बलिङमा नेपालका लागि स्पिनर दीपेन्द्रसिंह ऐरीले कसिलो बलिङ गर्दै ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिएका थिए भने अभिनाश बोहराले १ विकेट लिएका थिए। अब नेपालले शनिबार कतारसँग खेल्नेछ।
प्रतियोगितको नेपाल साविक विजेता हो भने प्रतियोगितामा १० टिम सहभागी रहेका छन्। समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेविया रहेका छन् तथा समूह ‘बी’ मा ओमान, युएई, कम्बोडिया, बहराइन र कुवेत रहेका छन्।
समूह चरणका खेलपछि दुवै समूहका शीर्ष २ देश सेमिफाइनलमा पुग्ने छन् भने सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ। फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ।
ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी–२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष ३ देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छन्।



