कात्तिक ८, काठमाडौं : सानदार ब्याटिङ र बलिङको सहयोगमा दक्षिण अफ्रिकाले आइसिसी विश्वकप २०२३ मा बंगलादेशमाथि १४९ रनको सानदार जित हात पारेको हो। जितसँग अफ्रिका अंक तालिकामा दोस्रो स्थानमा उक्लिदै सेमिफाइनल सम्भावना मजबुत बनाएको छ।
जितको लागि ३ सय ८३ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेश ४६.४ ओभरमा २ सय ३३ रनमा अल आउट भयो। बंगलादेशका महमूदुल्लाह रियादले सर्वाधिक १ सय ११ रनको शतकीय इनिङ खेलेका थिए र रियादको यो ओडिआई करिअरको चौथो र विश्वकपको तेस्रो शतक हो।
ओपनर तानजिद हसन १२ रन, लिटन दास २२ रन, नाज्मुल हसन डक, सकिब अल हसन १ रन, मुश्ताफिजुर रहमान ८ रन, मेहेदी हसन मिराज ११ रन, नासुम अहमद १९ रन र हसन मोहम्मद १५ रनमा आउट भएका थिए।
बलिङमा दक्षिण अफ्रिकाका जेराल्ड कोट्जीले ३, कागिसो रबाडाले २ विकेट, मार्को यानसन र लिजार्ड विलियम्सले समान २ विकेट र केशव महाराजले १ विकेट लिएका थिए।
वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३८२ रन बनाएको थियो। यो विश्वकपमा दक्षिण अफ्रिकाले तेस्रो पटक ३५० रन भन्दा बढी बनाएको हो। यसअघि श्रीलंका विरुद्ध ४२८ रन बनाएको दक्षिण अफ्रिकाले इंगल्याण्ड विरुद्ध ३९९ रन खडा गरेको थियो।
दक्षिण अफ्रिकाको जितमा ओपनर क्विन्टन डिककले सर्वाधिक १७४ रनको सानदार शतकीय इनिङ खेलेका थिए र जारी विश्वकपमा डिककको तेस्रो शतक हो। हेनरिक क्लासनले ५० बलमा ९० रनको विष्फोटक इनिङ खेलेका थिए। ओपनर रिजा हेन्ड्रीक्स १२ रन, रास्सी भ्यान डर डुसेनले १ रन, मारक्रम ६० रन, डेभिड मिलर ३४ रन बनाएका थिए।
बलिङमा बंगलादेशका लागि हसन महमूदले २ र मेहेदी हसन मिराज, शोरीफुल इस्लाम र कप्तान शकिब अल हसनले समान १/१ विकेट लिएका थिए।
दक्षिण अफ्रिका ५ खेलमा ४ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ। भारत ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा छ। न्युजिल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ।



