कात्तिक १३, काठमाडौं : आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह बी को पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले बहराइनलाई पराजित गरेको छ।
मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएईले बहराइनलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो। बराइनले दिएको १३६ रनको लक्ष्य युएईले १८ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो। यस जितसँगै युएईले प्रतियोगितामा २ अङ्क जोडेको छ।
युएईका लागि अलि नासिरले सर्वाधिक ४८ रन बनाएका थिए। उनले २६ बलमा चार चौका र तीन छक्काको मद्दतमा अविजित ४८ रन बनाएका हुन्। त्यस्तै, आशिफ खानले २३ रनको योगदान दिएका थिए भने कप्तान मोहम्मद वसिमले ११ रन र बसिल अहम्मदले ११ रन बनाएका थिए।
बलिङमा बहराइनका लागि रिजवान बुट्टले २ विकेट लिए भने साथिया विरापाथिरन, अब्दुल मजिद र सचिन कुमारले समान १/१ विकेट लिएका थिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रनको योगफल बनाएको थियो। बहराइनका लागि हैदर बुट्टले सर्वाधिक ५९ रन बनाएका थिए। उनले ४३ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५९ रन बनाएका हुन्। त्यस्तै, जुनेद अजिजले २५ रन जोडे भने सोहिल अहम्मदले २८ रन बनाएका थिए।
बलिङमा युएईका लागि जुनेद सिद्धिगी र आयान अफजल खानले समान २-२ विकेट लिए भने अलि नासिर र कार्तिक मैइएप्पनले समान १/१ विकेट लिएका थिए।



