काठमाडौँ : नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ। एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ले सो उपाधि ३–१ ले आफ्नो पक्षमा पारेको हो।
पाँच खेलको शृङ्खलाअन्तर्गत आज भएको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई २८ रनले पराजित गरेको हो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रनको योगफल बनायो। २ सय १० रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सवै विकेट गुमाएर १ सय ८१ रन मात्र बनायो।
वेस्ट इन्डिज ‘ए’का लागि आन्द्रे फ्लेचरले सर्वाधिक ८४ रनको योगदान दिएका थिए। उनले ५४ बल खेल्ने क्रममा नौ चौका र चार छक्का प्रहार गरेका थिए । यस्तै जोनसन चाल्र्सले ३० बलमा ६ छक्का र ३चौकाको मद्दतमा ५८ रन बनाएका थिए। फाबियन एलनले अविजित ३३ रन बनाएका थिए।
बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले दुई तथा प्रतिश जिसीले एक विकेट लिए । नेपालका लागि एक सय ८१ रन बनाउने क्रममा कप्तान रोहितकुमार पौडेलले ८२ रनको योगदान दिएका थिए। उनले ४७ बल खेल्दै सात चौका र पाँच छक्का हिर्काएका थिए। वेस्ट इन्डिज ‘ए’सँगको पहिलो खेलमा उनले १सय १२ तथा दोस्रो खेलमा अविजित ७१ रन बनाएका थिए। तेस्रो खेलमा भने कप्तान पौडेललाई आराम दिइएको थियो।
बलिङतर्फ वेस्ट इन्डिज ‘ए’का हेडन वाल्स र म्याथ्यु फर्डले समान ३/३ तथा फेबियन एलेन र गुडाकेश मोटीले समान २/२ विकेट लिएका थिए।
जारी शृङ्खलाअन्तर्गत नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको अन्तिम खेल शनिबार हुनेछ।



