काठमाडौँ : नेपालले अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकपअघि घरेलु मैदान टीयुमा आज वेष्टइण्डिजसँग अन्तिम खेल खेल्दैछ। पाँच खेलको सिरिज अन्तर्गत अन्तिम खेल दिउँसो १२ः१५ मा सुरु हुनेछ । सुरुआती चार खेलमा वेष्टइण्डिजले सिरिज ३-१ ले जितिसकेको छ।
आजको खेल नेपाललाई विश्वकप अघिको तयारी हुनेछ। पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो। तर, त्यसपछि १० रन, ७६ रन र २८ रनले पराजित हुँदै सिरिज गुमाएको थियो। नेपालले चार खेलमा नै टस हारेर पहिला फिल्डिङको निम्तो पाएको थियो। यदि आज नेपालले टस जितेको खण्डमा पहिला ब्याटिङ गर्ने पक्का जस्तै छ।
नेपालले चौथो खेलमा विश्राम गरेका करण केसीले आज मौका पाउन सक्छन्। नेपाल ओपनर कुशल भुर्तेल र आसिफ शेखबाट प्रदर्शन चाहन्छ।



