कात्तिक १४, काठमाडौं : आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोट अन्तर्गत आजका खेलमा ओमान र बहराइन विजयी भएका छन्। दोस्रो जित निकालेको ओमान तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनल नजिक पुगेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमानले सिङ्गापुरालाई जीतका लागि १ सय ७५ रनको लक्ष्य दिएको थियो। जवाफमा सिङ्गापुर निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रनमा समेटियो।
सिङ्गापुरका लागि सुरेन्द्र चन्द्रमोहनले सर्वाधिक ३१ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४१ रनको योगदान दिएका थिए। त्यस्तै मनप्रित सिंङले ३१, अरित्रा दत्तले १३ तथा अनिश परामले १२ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेकनन्।
बलिङतर्फ ओमानका विलाल खान र फयाज बुटृले २/२ विकेट लिए भने शाकिल अहमद, जिशान मकसुद र अकिब इलियासले समान १/१ विकेट लिएका थिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १ सय ७४ रनको योगफल बनाएको थियो। ओमानका लागि अकिब इलियासले ३५ बलमा ४ चौका र ४ छक्कासहित ६३ रनको योगदान दिएका थिए। त्यस्तै, प्रतीक अथवले ४२ जिशान मकसुद २६ तथा कश्याप प्रजापतिले १२ रन जोडेका थिए। सिङ्गापुरका जनक प्रकाश, अनिश पराम र रमेश कलिमुथुले समान २/२ विकेट लिएका थिए।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा जीतका लागि १ सय ४७ रनको लक्ष्य पछ्याएको हङकङ १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै १ सय २६ रनमा समेटियो। हङकङका अंशुमन रथले सर्वाधिक २८ रन , जिशान अलिले २१, एजिज खानले १९ तथा नस्रुला रानाले १६ रन बनाएका थिए। त्यसबाहेक अन्य कुनैपनि खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न सकेनन्।
बहराइनका लागि अब्दुल मजिदले ३ विकेट लिए भने रिजवान बुटृ र अली दाउदले समान २/२ विकेट लिएका थिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउदै एक सय ४६ रनको योगफल बनाएको थियो। बहराइनका लागि इमरान अलीले ४३ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६२ रन बनाएका थिए। इमरान अनवरले १५, हैदर बुटृले १४ तथा रिजवान बुटृले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।
हङकङका लागि नस्रुला रानाले ३ विकेट लिए भने एहसान खान, अजिज खान र यासिम मुर्तजाले समान २/२ विकेट लिएका थिए। जितसँगै बहराइनले दुई अङ्क जोडेको छ। हिजो भएको पहिलो खेलमा बहराइन युएईसँग ५ विकेटले पराजित भएको थियो।
आजै कीर्तिपुरमा दिउँसो साढे १ बजे नेपाल र मलेसिया तथा मूलपानीमा कुवेत र यूएई खेल्दैछन्।



