काठमाडौं :काभा महिला भलिबल लिगमा आज नेपाल र भारत खेल्दैछन् । खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो तीन बजे शुरु हुनेछ । नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो । नेपालको तीन अंक छ ।
भारतले लगातार दोस्रो जित निकालेको छ । हिजो भएको खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको भारत अंक तालिकाको शीर्षस्थानमा छ । भारतले आफ्नो पहिलो खेलमा इरानलाई ३–१ को सेटमा हराएको थियो । त्यस्तै हिजो भएको अर्को खेलमा इरानले श्रीलंकालाई ३–२ को सेटमा पराजित गरेको छ । श्रीलंकाको यो दोस्रो हार हो ।
काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरान सहभागी छन् । शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।



