काठमाडौँ : हाल विश्वव्यापी बजारमा विद्युतीय सवारीसाधन (EV) र स्पोर्ट्स युटिलिटी भेइकल (SUV) हरूको लोकप्रियता तीव्र रूपमा बढिरहेको छ, जसको प्रभाव मूल्यमा समेत परिरहेको छ। यसले गर्दा नेपालमा पनि EV को माग वृद्धि हुनुका साथै, पछिल्ला वर्षहरूको तुलनामा यी सवारीसाधनहरूको मूल्यमा कमी आएको देख्न सकिन्छ।
भर्खरै सम्पन्न भएको नाडा अटो शो २०८१ मा यस प्रवृत्तिको झलक पनि स्पष्ट रूपमा देखियो। नाडा अटो शोमा आन्तरिक दहन इन्जिन (IC) गाडीहरूको बुकिङ थोरै मात्रामा भएको थियो भने विद्युतीय गाडीहरूको बुकिङ उल्लेखनीय रूपमा उत्साहजनक देखियो। यसै क्रममा टाटाले आफ्नो टाटा पन्च EV नेपालमा रु. ३३.९९ लाखदेखि ३८.९९ लाखको मूल्यमा सार्वजनिक गर्यो।
भारतमा भने टाटाले आफ्नो विद्युतीय गाडीहरूको मूल्यलाई सेप्टेम्बर-अक्टोबर महिनाको फेस्टिभ अफर अन्तर्गत ठूलो कटौती गरेको छ। विभिन्न मोडेलमा ४० हजारदेखि ३ लाख भारतीय रुपैयाँसम्मको छूट दिइएको छ। Cardekho.com का अनुसार टाटा Tiago EV मा भारु ४० हजार, टाटा पन्च EV मा १ लाखदेखि १.२ लाख र टाटा Nexon EV मा ३ लाखसम्मको मूल्य कटौती गरिएको छ।
विशेषत: केही प्रमुख मोडेलहरूको मूल्य यस प्रकार घटाइएको छ:
Tata Punch EV S: पुरानो मूल्य भारु १०.९९ लाखबाट घटेर नयाँ मूल्य भारु ९.९९ लाख।
Tata Nexon EV: पुरानो मूल्य भारु १४.५० लाखबाट घटेर नयाँ मूल्य भारु १२.५० लाख।
नेपालमा टाटाका आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पनि छिट्टै नयाँ मूल्यको घोषणा गर्ने अपेक्षा गरिएको छ। भारतीय बजारमा मूल्य घटेसँगै नेपालमा पनि EV सवारीसाधनको मूल्यमा कमी आउने र यसले थप ग्राहकहरूलाई आकर्षित गर्ने विश्वास गरिएको छ।



