काठमाडौँ : नेपालमै एसेम्बल गरिएको हुन्डाई भेन्यु कारको १२० युनिट डेलिभरी गरिएको छ। कोरियन कार निर्माता कम्पनी हुन्डाईले नेपालमै कार निर्माण सुरु गरेपछि ग्राहकहरूको आकर्षण वृद्धि भएको छ।
हुन्डाई भेन्युको व्यावसायिक उत्पादनले ग्राहकलाई भारतबाट आयात गरिएको कारको तुलनामा सस्तो मूल्यमा उपलब्ध गराएको छ। लक्ष्मी इन्टर कन्टिनेन्टल कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार, भेन्यु एस १.२ को मूल्य ४८ लाख ९६ हजार रुपियाँबाट घटेर ४४ लाख ९६ हजार रुपियाँमा पुगेको छ। यसैगरी, उन्नत भेरियन्ट एसएक्सको मूल्य ५७ लाख ९६ हजार रुपियाँबाट घटाएर ५३ लाख ९६ हजार रुपियाँ तोकिएको छ। दुवै कारको इन्जिन क्षमता ११९८ सीसी रहेको छ।
लक्ष्मी मोटर कर्पोरेसन, लक्ष्मी ग्रुपको लगानीमा र हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा नेपालमा स्थापित गरिएको हो। यस कम्पनीले पहिलो पटक नेपालमा हुन्डाई भेन्यु मोडलको उत्पादन सुरु गरेको हो। गत वैशाख २८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नवलपरासीको रामग्राम-६ मा 'हुन्डाई मोटर एसेम्बलिङ'को शुभारम्भ गरेका थिए, र यससँगै हुन्डाई भेन्युको बिक्री पनि सुरु गरिएको थियो।
हुन्डाई भेन्युको बनावट, गुणस्तर, र प्रदर्शन भने कोरिया वा भारतमा निर्माण हुने सोही मोडलका गाडीहरू जस्तो नै रहेको दाबी कम्पनीले गरेको छ। स्वदेशमै उत्पादन गरेर देशको औद्योगिकीकरण, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, आन्तरिक राजस्व वृद्धिमा योगदान, सीप र प्रविधिको विकास, सहायक उद्योगको स्थापना, आन्तरिक स्रोत र विद्युत् खपतमा योगदान, र उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य राखिएको छ।
पहिलो चरणमा हुन्डाई भेन्युका दुई भेरियन्टको उत्पादन गरिएको छ र केही समय भित्र थप भेरियन्टहरूको उत्पादन पनि बढाउँदै जाने योजना कम्पनीले जनाएको छ। यस आर्थिक वर्षभित्र हुन्डाई ग्रान्ड आइटेन र नयाँ हुन्डाई क्रेटाको उत्पादन पनि सुरु गर्ने तयारी छ। हालसालै, अपग्रेडेड भर्सनको नयाँ क्रेटाको ६१ युनिट डेलिभरी गरिएको छ र १५० युनिटको बुकिङको आधारमा डेलिभरी जारी छ। नयाँ हुन्डाई क्रेटा साउन तेस्रो सातादेखि बिक्रीमा आएको छ।



