काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले देशभरिका सबै ७५३ स्थानीय तहमा ब्रोकर शाखा विस्तार गर्ने योजना बनाएको छ। यस योजनाले स्थानीय स्तरमै ब्रोकर सेवा उपलब्ध गराएर शेयर कारोबारको लागत घटाउने उद्देश्य राखेको छ।
अर्थमन्त्री बिष्णु पौडेलको नेप्से कार्यालय भ्रमणका क्रममा नेप्सेका अध्यक्ष शोभाकान्त पौडेलले यो योजना प्रस्तुत गरेका थिए। यसै अवसरमा, नेप्सेले अन्तरदिवसीय (इन्ट्रा डे) शेयर कारोबार खुलाउने योजना पनि अघि सारेको छ। जसले गर्दा शेयर खरिद गरेकै दिनमा त्यसलाई बिक्री गर्न सकिनेछ।
नेप्सेले ब्रोकरहरूको कार्यक्षेत्र विस्तार गर्दै पोर्टफोलियो व्यवस्थापन लगायतका सेवा प्रदान गर्ने नीति अपनाउने तयारीमा छ। साथै, विदेशमा रहेका नेपालीहरूलाई पुँजी बजारको सेवा उपलब्ध गराउन, स्टक डिलरको संख्या तथा सेवामा वृद्धि गर्न, अक्सन मार्केटको व्यवस्था गर्ने र एसएमईका लागि छुट्टै प्राविधिक सहयोग सहितको प्लेटफर्म बनाउने योजना पनि अघि बढाइएको छ।
यस अतिरिक्त, नेप्सेले क्यापीटल मार्केट एकाडेमी स्थापना गर्ने, सरकारी ऋणपत्रलाई डिजिटलाइज गरी कारोबारलाई सहज बनाउने, प्रदेश स्तरीय पूर्वाधार लगानीमा आवश्यक पर्ने पुँजी ऋणपत्रमार्फत जुटाउन सहजीकरण गर्ने र सामूहिक लगानी कोषजस्तै पूर्वाधार कोष र एनआरएन फन्ड सञ्चालनमा ल्याउने योजना बनाएको छ।



