काठमाडौँ : नेपाल त्रिकोणात्मक टी-२० सिरिजमा क्यानडासँग ४ विकेटले पराजित भएको छ। योसँगै नेपालको शीर्ष स्थानमा रहँदै उपाधि जित्ने सम्भावना कमजोर बनाएको छ।
नेपालले क्यानडासँग पहिलो खेलमा पनि १४ रनले हार ब्यहोरेको थियो तर दोस्रो खेलमा ओमानलाई ३७ रनले हराएको थियो। नेपालले अन्तिम खेल बुधकार राती ओमानसँग खेल्नेछ।
नेपालले दिएको १ सय ४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। क्यानडाका लागि साद बिन जाफरले ३३ रन, निकोलस किर्तोन २६ रन, रविन्द्रपाल सिंहले २० रन, दीलप्रित बाजवा २५ रन, नवनित धालिवाल १२ रन तथा हर्ष ठाकेर ११ रन बनाएका थिए।
बलिङमा नेपालका सन्दीप लामिछाने र ललित राजवंशीले २/२ विकेट लिएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा १३९ रन बनाएको थियो। नेपालका लागि अनिल साहले ४१ रन र आसिफ शेखले ३० रन, गुल्सन झाले २३ रन, कुशल भुर्तेलले १३ रन तथा दीपेन्द्रसिंह ऐरीले १२ रन बनाएका थिए।
बलिङमा क्यानडाका लागि हर्ष ठाकेरले २ विकेट तथा प्रविन कुमार, डिलोन हेलिगर र साद बिन जाफरले १-१ विकेट लिएका थिए।



