काठमाडौँ : रसुवा जिल्लाको टिमुरेमा पहिरोका कारण रोकिएका कन्टेनरहरूमा क्षति भएको छ। केरूङ जाने पालो कुरेर टिमुरेमा रोकिएका आठवटा कन्टेनरमा मंगलबार राति आएको सुख्खा पहिरोले क्षति पुर्याएको हो।
केरूङतर्फ सामान लिन जाने क्रममा पार्किङ अभावका कारण सडक छेउमा रोकिएका कन्टेनरहरू चिनियाँ भूभागमा पहिरोले सडक अवरुद्ध भएपछि क्षतिग्रस्त भएको हो । चिनियाँ केरूङ–रसुवागढी सडक खण्डमा पूर्ण रूपमा अवरुद्ध भएपछि पुनः सञ्चालनका लागि ४०–४५ दिन लाग्ने सूचना प्राप्त भएको जिल्ला प्रहरी प्रमुख केशव भट्टराईले जानकारी दिए।
यस घटनापछि अन्य कन्टेनरहरूलाई जोखिमबाट जोगाउन सवारी मालिकहरूलाई घर फर्काउन अनुरोध गरिएको छ। पहिरोको उच्च जोखिम रहेको टिमुरे र आसपासका क्षेत्रहरूमा सुरक्षित पार्किङको अभावका कारण सवारी साधनहरू स्याफ्रुबेँसीबाट अघि नबढाउन समेत अनुरोध गरिएको छ।
केरूङबाट दसैँका लागि ल्याइएका दैनिक उपभोग्य सामान र कपडासहितका २०० कन्टेनर भन्सार हातामा रहेका छन। जुन यथाशीघ्र काठमाडौँ पठाउने तयारी भइरहेको भन्सार प्रमुख तुलसीप्रसाद भट्टराईले बताए।
चिनियाँ भागमा पहिरोका कारण सडक मर्मतमा समय लाग्ने भएकाले राजस्व सङ्कलनमा पनि कमी आउने सम्भावना देखिएको छ।



