काठमाडौँ : दसैं अगाडि बाढी र पहिरोका कारण अवरुद्ध बनेका प्रमुख राजमार्गहरू खुलाउन सरकार सक्रिय भएको छ। बीपी राजमार्गमा अवरुद्ध १० देखि १२ किलोमिटरको खण्ड मर्मत गर्न नेपाली सेना र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्राविधिक टोलीहरुले संयुक्त रुपमा अध्ययन थालेका छन्।
भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माको नेतृत्वमा प्राविधिकहरूको टोलीले सेनाको हेलिकोप्टर प्रयोग गरेर पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरिसकेको छ। टोलीमा मन्त्रालयका तीन जना प्राविधिक र एक जना नेपाली सेनाका प्राविधिक संलग्न छन्। टोलीले वैकल्पिक मार्ग बनाउन विस्फोटक पदार्थको प्रयोग गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले सेनाको संलग्नता आवश्यक भएको बताइएको छ।
रक्षामन्त्री मानविर राई र यातायात मन्त्री देवेन्द्र दाहालबीच यस विषयमा छलफल भएको छ। दाहालले भकुन्डेबेंसीदेखि अघि १०-१२ किलोमिटरको सडक मर्मतमा कठिनाइ भएकाले सेनाको सहयोग मागेको जानकारी दिएका छन्।
रक्षामन्त्री राईले सेनाको हेलिकोप्टर र प्राविधिक सहयोगको आवश्यकता रहेको बताउँदै सडक मर्मतका लागि स्थलगत अध्ययन भइरहेको र रिपोर्टको आधारमा आवश्यक निर्णय गरिने जानकारी दिनुभयो ।
सेनाले यसअघि पनि काठमाडौं–तराई/मधेश द्रुतमार्ग, कर्णाली करिडोर र अन्य प्रमुख सडक निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ। बाढी र पहिरोका कारण क्षतिग्रस्त भएका पृथ्वी राजमार्ग र बीपी राजमार्ग खुलाउने प्रयासमा सेनाको सहयोग आवश्यक ठानिएको छ।



