काठमाडौँ : अमेरिकामाथि क्लिन स्वीप गर्दै टी–२० सिरिज नेपालले आफ्नो हात परको छ। टि ट्वान्टी सिरिजमा नेपालले अमेरिकामाथि रोमाञ्चक जित हात पारेको छ। सोमबार ग्रान्ड प्रेरिमा भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले जित गरेको हो। योसँगै अमेरिकाविरुद्ध नेपालले ह्याट्रिक जित निकाल्यो। विदेशी मैदानमा नेपालले यस्तो उपलब्धि हासिल गरेको पहिलोपटक हो।
अमेरिकाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका ओपनर ब्याटर असिफ शेखले ३९ बलमा ५० रनको योगदान गरेका थिए। यस्तै, कुशल भूर्तेल र कुशल मल्लले ७४ रनको साझेदारी गरेका थिए। नेपालका लागि कुशल मल्लले ४५ रन, कुशल भूर्तेललले ४० रन र अनिल शाहले १३ रन बनाएका थिए।
बलिङमा अमेरिकाका जुवानाय ड्राइसडेल र जसदीप सिंहले एक/एक विकेट लिएका थिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो। अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले ६८ रन र मिलिन्द कुमारले ४३ रन बनाएका थिए।
बलिङमा नेपालका लागि सोमपाल कामीले ३ विकेट तथा रिजन ढकाल र ललित राजवंशीले १/१ विकेट लिएका थिए।



