काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका सांसद सञ्जयकुमार गौतम आमरण अनशन बस्नु भएको छ । १५ वटा माग पूरा गराउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउन पूर्वमन्त्रीसमेत रहेका गौतम शनिबारदेखि अनशन बस्नु भएको हो । उहाँले समस्त बर्दियाका जनताका तर्फबाट आफू अनशनमा बसेको बताउनु भएको छ ।
उहाँले जब्दीघाटको भत्किएको पुलमुनि अनशनलाई जारी राखेका र यो पुलका संरचना हटाएर तत्कालै नयाँ पुल बनाउनसमेत माग गर्नु भएको छ । बर्दिया सदरमुकाम जोखिममा रहेकोले तत्काल तटबन्धनको बाँकी काम पूरा गर्नुपर्ने, बबई सिँचाइ आयोजना ३ वर्षभित्र पूरा गर्न बजेट सुनिश्चित गर्नुपर्ने, भुरीगाउँ–तेलपानी सुर्खेत सडक खण्ड निर्माण कार्य यसै आर्थिक वर्षदेखि सुरू गर्न उनले सरकारसँग माग गर्नु भएको छ ।
साथै गुलरिया मूर्तिया नाका तुरून्त सुचारू गर्नुपर्ने, मध्यवर्ती क्षेत्रका बासिन्दालाई निस्शुल्क बीमा व्यवस्था गरिनुपर्ने, बाढीपीडितलाई भूकम्पपीडित सरह राहत दिने व्यवस्था लागु गरिनुपर्ने, कपास विकास समिति विघटन गरी किसानहरूलाई मोही सरह हैसियत दिनुपर्ने, सत्तिघाट पुलमा आवश्यकताअनुसार स्पान थप गर्नुपर्ने माग पनि उहाँले राख्नु भएको छ ।



