काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेललाई ‘पावर्ड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको छ। यस प्रायोजन सम्झौतामा एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रा.लि. र क्यानको संयुक्त पहल रहेको छ।
यसअघि नै सिद्धार्थ बैंकलाई एनपीएलको मुख्य प्रायोजकका रूपमा अनुबन्ध गरिएको थियो। प्रतियोगिता मंसिर १६ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
प्रतियोगिताका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रशारणका लागि भारतीय कम्पनी स्टार स्पोर्ट्स नेटवर्कसँग सम्झौता गरिएको छ, जसले नेपाल क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने लक्ष्य राखेको छ।
यो सम्झौता नेपाली क्रिकेटको व्यावसायिक र अन्तर्राष्ट्रिय प्रभाव विस्तार गर्नका लागि महत्वपूर्ण मानिएको छ। एनसेलको सहभागिताले प्रतियोगितालाई थप उत्साहपूर्ण बनाउन मद्दत पुर्याउने विश्वास गरिएको छ।



