काठमाडौँ : नेपाली अल्ट्रा धावक प्रिया राईले मलेसियामा सम्पन्न युटिएमबी बाई मलेसिया अल्ट्रा रेस को उपाधि जितेकी छन्। मलेसियाको टिपिङमा आयोजित रेसमा प्रियाले महिला ५४ किमि वर्गमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरिन्। उनले यो दूरी ६ घण्टा ५० मिनेटमा पूरा गरिन्।
यो प्रतियोगितामा विश्वभरका एक हजारभन्दा बढी धावक सहभागी भएका थिए। खराब मौसमका कारण रेस केही समय अवरुद्ध भए तापनि आयोजकले डेढ घण्टा रोकपछि पुनः सुरु गरेको थियो।
पछिल्लो समय प्रिया राई अन्तर्राष्ट्रिय ट्रेल रेसमा उल्लेखनीय सफलता हासिल गर्दै आएकी छिन्। गत असोजमा मलेसियामै सम्पन्न एसिया ट्रेल मास्टर्स रेस को उपाधि जितेकी उनले कात्तिकमा दक्षिण कोरियामा भएको एसिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिप को सर्ट रेस (४० किमि) महिलातर्फ दोस्रो स्थान प्राप्त गरेकी थिइन्।
प्रियाको यो सफलता नेपाली खेलकुद क्षेत्रका लागि ठूलो गर्वको विषय बनेको छ।



