काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को उद्घाटन खेलका सबै भीआईपी टिकेट पहिलो दिनमै 'सोल्ड आउट' भएका छन्। प्रतियोगिताको आधिकारिक अनलाइन टिकेट पार्टनर खल्तीले टिकेट लाइभ गर्ने पहिलो दिनमै भीआईपी टिकेटको सबै स्टक बिक्री भएको जानकारी सार्वजनिक गरेको हो।
खल्तीले सोमबार मात्र १५ मङ्सिरदेखि सुरु हुने एनपीएलका टिकेट आफ्नो डिजिटल वालेटमा लाइभ गराएको थियो। त्यतिखेर नै भीआईपी टिकेटको बिक्रीमा ठूलो चासो देखिएको थियो।
भीआईपी टिकेटको मूल्य खेल अनुसार ५ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म तोकिएको छ। साधारण टिकेट भने ३ सय रुपैयाँदेखि ५ सय रुपैयाँसम्म पर्नेछ। त्यस्तै साधारण र भीआईपी दुवैका लागि सिजनल टिकेट पनि उपलब्ध गराइएको छ।
साधारण सिजनल टिकेटको मूल्य छुटसहित ४ हजार ४ सय ८० रुपैयाँ रहेको छ भने भीआईपी सिजनल टिकेटको मूल्य छुटसहित ८ हजार २ सय ८० रुपैयाँ तोकिएको छ।
एनपीएलको यस सालको उद्घाटन खेलका लागि टिकटको अत्यधिक मागले यस खेलको महत्त्व र लोकप्रियता अझ बढाएको छ।
टिकेट बुकिङका लागि यहाँ क्लिक गर्नुहोस्।



