काठमाडौं : मोबाइल सेवाप्रदायक एनसेलले आफ्नो मोबाइल एपमार्फत नेपाल प्रिमियर लिग (एनपीएल)को लाइभ प्रसारणको व्यवस्था गर्ने घोषणा गरेको छ। एनपीएलको ‘पावर्ड बाई’ बनेको एनसेलले आफ्नो ग्राहकलाई क्रिकेटको प्रत्यक्ष प्रसारणमार्फत थप सुविधा दिने भएको हो। आठ फ्रेन्चाइज टोली सहभागी हुने यो लिग शनिबारदेखि सुरु हुने तयारीमा छ।
यससँगै, एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्ने नयाँ पहलको सुरुवात गरेको छ। यो अभियान अन्तर्गत प्रत्येक खेलमा हानिएका प्रत्येक चौकाका लागि ग्रामीण तथा दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिनेछ।
शैक्षिक सामग्री वितरणका लागि क्रिकेट एसोसिएसन नेपाल (क्यान), स्थानीय निकाय र अन्य सरोकारवालासँग समन्वय गरिनेछ। सामग्रीमा विद्यार्थीहरूको शैक्षिक आवश्यकतासँग मेल खाने उपयोगी वस्तुहरू समावेश गरिने र यसले पठनपाठनमा सकारात्मक प्रभाव पार्ने विश्वास फाउन्डेसनले व्यक्त गरेको छ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन्, “क्रिकेटले समाजमा एकता र प्रेरणा फैलाउने काम गर्छ। यस पहलमार्फत हामी दुर्गम क्षेत्रका विद्यार्थीहरूको शिक्षामा सकारात्मक योगदान पुर्याउन चाहन्छौँ। शिक्षा दिगो विकासको मुख्य आधार हो। यस कार्यक्रम भावी पुस्ताको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने हाम्रो प्रतिबद्धताको उदाहरण हो।”
यस प्रयासले ग्रामीण क्षेत्रमा शिक्षाको पहुँच सुधार गर्दै स्रोत र साधनको अभावमा परेका विद्यार्थीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।



