काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को आजको भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले हराउँदै सानदार तेस्रो जित हासिल गरेको छ।
पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। जनकपुरका लागि लाहिरु मिलन्थाले ४५ रन, जेम्स निशामले ४० रन र आसिफ शेखले ३६ रन बनाएका थिए।
बलिङमा पोखराका लागि बिपिन खत्री, माइकल लीस्क र कुशल भुर्तेलले समान १/१ विकेट लिएका थिए।
यस अघि, टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन बनाएका थियो। पोखराका लागि मार्कस क्रिचले ३५ रन, माइकल लीस्कले २५ रन, एन्ड्रिज गौस २० रन र रेमन रेफरले १७ रन बनाएका थिए।
बलिङमा जनकपुरका लागि ललित राजवंशीले ३ विकेट, जेम्स निशामले २ विकेट तथा किशोर महतो र मोहम्मद मोहसिनले समान १/१ विकेट लिएका थिए।



