कात्तिक २०, गुल्मी : गुल्मीमा राहदानी बनाउनेको भीड लागेपछि जिल्ला प्रशासन कार्यालयले एकदिन अगावै टोकन उपलब्ध गराउन थालेको छ। दसैँ र तिहार जस्ता पर्वको मौका छोपी राहदानी बनाउन आउनेको भीड बढेकाले एकदिन अगावै टोकन वितरण सुरु गरिएको उक्त कार्यालयले जनाएको छ।
दैनिक रूपमा सरदर ४० वटा राहदानीको आवेदन सङ्कलन गर्ने क्षमता रहेको कार्यालयमा हिजो आज दैनिक ९० देखि १०० सम्म राहदानीपका लागि आवेदन सङ्कलन हुने गर्दछ। कार्यालयमा अहिले सेवा लिने सेवाग्राहीको सङ्ख्या बढेकाले भीडभाड कम गर्न एक दिनअगावै टोकन वितरण गर्ने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो।
कार्यालयको क्षमताभन्दा बढी सेवाग्राहीको चाप भएकाले कार्यालय समय अतिरिक्त थप समय व्यवस्था गरेर दैनिक एक सय जनाको राहदानीका लागि आवेदन फाराम सङ्कलन गर्ने गरिएको र सोहीअनुसार एक दिन अगाडि नै टोकन वितरण गर्ने गरिएको उहाँले बताउनुभयो। टोकन वितरण गर्दा व्यवस्थित हुने र पालोमा मात्रै सेवाग्राही उपस्थित हुने भएकाले भीड पनि कम हुने जनाइएको छ।
कार्यालयको क्षमताभन्दा पनि सेवाग्राहीलाई प्राथमिकतामा राखेर कार्यालयले सेवा प्रवाह गरेको सहायक प्रमुख जिल्ला अधिकारी गैरेको भनाइ थियो। अहिले देश तथा विदेशबाट पर्व मनाउन गाउँघर आउनेका साथै समयको सदुपयोग गरेर नागरिकताको साथमा राहदानी बनाउने सेवाग्राही बढी हुने गरेको प्रशासन फाँटका नायब सुब्बा प्रेम खनालले बताउनुभयो।
यसैगरी, नागरिकता लिने सेवाग्राहीको सङ्ख्यामा पनि उल्लेखनीयरुपमा वृद्धि भएको छ। दैनिक सरदर ४० देखि ५० नयाँ नागरिकता जारी हुने जिल्ला प्रशासनमा अहिले दिनमा एक सयभन्दा बढीले नयाँ नागरिकता र ५० भन्दाबढीले प्रतिलिपि लिने गर्दछन्। कार्यालयमा राहदानीसँगै नयाँ नागरिकता बनाउने र प्रतिलिपि लिनेहरुको चाप बढ्दै गएसँगै राति अबेरसम्म प्रशासन कार्यालयमा भीडभाड देख्न सकिन्छ।
राहदानी बनाउनका लागि राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्यरुपमा भर्नुपर्ने भएका कारण दैनिक एक सय ४० भन्दा बढीले राष्ट्रिय परिचयपत्र भर्ने गरेको प्रशासनले जनाएको छ।
सेवाग्राहीको सहजताका लागि विचौलीयाबाट कोही पनि नठगिउन भनेर कार्यालयले निःशुल्क राहदानीको आवेदन फाराम भर्ने व्यवस्था गर्दै आएको छ। कार्यालयभित्र सहयोगी कक्ष स्थापना गरेर निःशुल्करुपमा निवेदन लेख्नेदेखि निश्चित मूल्यमा हुलाक टिकटकोसमेतको व्यवस्था मिलाइएको छ।रासस



