काठमाडौँ : चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ। कर्णाली याक्सले दिएको १६७ रनको लक्ष्य चितवनले १९.१ ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनाएर चार विकेटले जित हात पारेको हो।
चितवनका लागि रबि बोपाराले उत्कृष्ट प्रदर्शन गर्दै ३५ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५१ रन बनाए। ओपनर दीपक बोहराले ४२ रन जोडे भने सैफ अली जैबले १६ बलमा २ चौका र ४ छक्का मद्दतमा ३८ रनको आक्रमक योगदान दिए। यी तीन खेलाडीको प्रदर्शनले चितवनलाई लक्ष्य पछ्याउन सहज बनायो।
कर्णाली याक्सले पहिले ब्याटिङ गर्दै तीन विकेट गुमाएर १६६ रन बनाएको थियो। भारतीय खेलाडी पान्चलले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ७० रन बनाए। उनले म्याक्स ओ’डाउसँग पहिलो विकेटका लागि ६१ रन र मार्क वाटसँग दोस्रो विकेटका लागि ६३ रनको साझेदारी गरे। पवन सर्राफले अन्त्यतिर १६ बलमा अविजित २७ रन जोडे।
बलिङतर्फ कर्णालीका कप्तान सोमपाल कामीले २ विकेट लिए भने मार्क वाट, युनिश सिंह र युवराज खत्रीले समान एक/एक विकेट हात पारे। चितवनका लागि सोहिल रनभीर, सैफ जैब र रबि बोपाराले एक/एक विकेट लिए।
यस जितसँगै चितवनले लिगमा आत्मविश्वासपूर्ण सुरुवात गरेको छ। यसअघि पहिलो संस्करणमा दुवै खेलमा कर्णाली विजयी भएको थियो, तर यसपटक चितवनले पहिलो पटक कर्णालीलाई पराजित गर्न सफल भयो।



