काठमाडौँ : कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको आइसिसी विश्वकप लिग–२ को खेलमा अमेरिकाले स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ। स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दै ४३.३ ओभरमा सबै विकेट गुमाएर १६९ रन बनाएको थियो।
स्कटल्यान्डका लागि मार्क वाटले उत्कृष्ट प्रदर्शन गर्दै ६६ रन बनाए। उनले ८५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। ब्राण्डन म्याकमुलनले ३२ रन, म्याथ्यु क्रसले २० रन र जर्ज मुन्सेले १९ रनको योगदान दिए। तर अन्य खेलाडीले ठोस प्रदर्शन गर्न नसक्दा टोली १७० रनभन्दा कममा सीमित रह्यो।
अमेरिकाले लक्ष्य सजिलै पछ्यायो। ओपनर स्मित पटेल र शाहन जाहाँगिरले समान ३७/३७ रन बनाए भने कप्तान सैतेजा मुक्कामल्लाले ३५ रन जोडे। मिलन्द कुमार २४ रनमा अविजित रहे भने शेहान जयसूर्याले १९ रन बनाए। शुभम् रञ्जनेले पनि अविजित ११ रन जोड्दै टोलीलाई १७.१ ओभरमै लक्ष्यमा पुर्याए।
बलिङतर्फ अमेरिकाका रुशिल उगारकरले चार विकेट लिए भने सौरभ नेत्रभाल्करले तीन विकेट हात पारे। शुभम् रञ्जनेले दुई विकेट लिए। यस जितसँगै अमेरिका २७ खेलबाट ३८ अंकसहित शीर्षस्थानमा पुगेको छ। स्कटल्यान्ड ३२ खेलबाट ३८ अंकसहित नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ। नेपाल भने २७ खेलबाट २२ अंकसहित पाँचौँ स्थानमा छ र शुक्रबार अमेरिकासँग अन्तिम खेल खेल्नेछ



