काठमाडौँ : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले भारत भ्रमणका क्रममा पहिलो अभ्यास खेलमा कर्नाटकको राज्यस्तरीय टोलीमाथि १ सय १६ रनको फराकिलो जित दर्ता गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभरमा अलआउट हुँदै १ सय ८८ रन बनाएको थियो जसमा आसिफ शेखले सर्वाधिक ४९ रन, इशान पाण्डेले ३४, देव खनाल र सन्दीप जोराले २७-२७ रन बनाएका थिए।
यस्तै, १ सय ८९ रनको लक्ष्य पछ्याएको कर्नाटक २८ ओभरमा मात्र ७२ रनमा अलआउट भयो। नेपालको लागि बलिङमा करण केसी, ललित राजवंशी, शेर मल्ल र बसिर अहमदले २-२ विकेट लिए भने कप्तान सन्दीप लामिछाने र हेमन्त धामीले १-१ विकेट हात पारेका थिए।