काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) का आगामी खेलहरू अब हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण हुने भएका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान) को कार्यालयमा आयोजित बोलपत्र (बिड) सम्बन्धी कार्यक्रममा हिमालय स्पोर्ट्सले सर्वाधिक बोली लगाउँदै प्रसारण अधिकार हात पारेको हो।
हिमालय स्पोर्ट्सले करसहित १७ करोड २४ लाख रुपैयाँको कीर्तिमानी रकम प्रस्ताव गर्दै प्रसारण अधिकार सुरक्षित गरेको हो। घरेलु खेलकुद प्रतियोगिताको प्रसारण अधिकारका लागि लगाइएको यो रकम हालसम्मकै सबैभन्दा उच्च मानिएको छ।
अधिकार प्राप्त गरेपछि हिमालय स्पोर्ट्सले एक विज्ञप्ति जारी गर्दै एनपीएल जस्तो ठूलो प्रतियोगिताको प्रसारण साझेदार बन्न पाउनु आफ्ना लागि विशेष उपलब्धि भएको जनाएको छ। नेपाली क्रिकेटप्रतिको बढ्दो क्रेज र समर्थकको उत्साहलाई ध्यानमा राख्दै उच्चस्तरीय प्रविधिसहित खेलको प्रत्यक्ष प्रसारण गर्ने प्रतिबद्धतासमेत कम्पनीले व्यक्त गरेको छ।