काठमाडौँ : एसियाली खेलकुद (एसियन गेम्स) अन्तर्गत पुरुष क्रिकेटको समूह ‘ए’ को उद्घाटन खेलमा अफगानिस्तानले विजयी सुरुआत गरेको छ। बिहीबार सम्पन्न खेलमा अफगानिस्तानले आयोजक जापानलाई ४८ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रनको योगफल तयार पारेको थियो। १ सय ३० रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रिएको आयोजक जापान भने अफगानिस्तानको कसिलो बलिङसामु टिक्न सकेन। जापान १९.३ ओभरमा मात्र ८१ रनमा अलआउट हुन पुग्यो।
यस समूहमा आयोजक जापान, अफगानिस्तान र नेपाल रहेका छन्। समूह चरणका खेलहरूपछि शीर्ष स्थानमा रहने टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ। नेपालले भने प्रतियोगिताको आफ्नो पहिलो खेल शुक्रबार (भोलि) अफगानिस्तानविरुद्ध खेल्दै अभियानको सुरुआत गर्नेछ। नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल शनिबार घरेलु टोली जापानसँग खेल्ने तालिका रहेको छ।