चामे : लगातारको अविरल वर्षासँगै आएको भीषण बाढी र पहिरोले मनाङको सदरमुकाम चामे र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। मर्स्याङ्दी नदी र स्थानीय ठाडो खोलामा आएको बाढी बस्तीमा पस्दा कम्तीमा ५ वटा घर बगाएको छ भने धेरै घरहरूमा लेदो र माटो भरिएको छ।
बाढी बस्तीमा छिरेपछि घटेको त्रासका कारण स्थानीयवासीले रातको समयमा जङ्गल तथा उच्च डाँडातिर भागरे ज्यान जोगाएका थिए। चामेकी सामुदायिक स्वास्थ्य अधिकृत छोडेन याङचेन लामाका अनुसार राति करिब साढे ११ बजेतिर बाढी बस्तीमा पसेपछि भागाभाग भएको थियो। "मानवीय क्षति त हुन पाएको छैन, तर ४-५ वटा घर बाढीले बगाइसकेको छ। हामी सबै रातभरि ज्यान जोगाउन जङ्गलतिर शरण लिन बाध्य भयौँ," उनले भनिन्।
बाढीले सदरमुकाम चामे जोड्ने मुख्य दुईवटा काठेपुलका साथै कोतो र तिल्चे जोड्ने पुलहरूसमेत बगाएपछि आवतजावत पूर्ण रूपमा ठप्प बनेको छ। ठाडो खोलाको बाढीले कृषि ज्ञान केन्द्र नजिकका भवनहरूमा क्षति पुर्याएको छ भने नयाँ बजार क्षेत्र अझै पनि उच्च जोखिममा छ। निरन्तर पहिरो खसिरहेकाले यहाँको झोलुङ्गे पुलसमेत खतरामा परेको छ। मर्स्याङ्दी नदीको बहाव नघटेकाले नदी किनारका बस्ती र तातोपानी क्षेत्र पहिरोको जोखिममा छन्।
विगत ३ दिनदेखि पूर्ण रूपमा सञ्चार सम्पर्क विच्छेद भएको चामेमा भर्खरै मात्र टेलिफोन सेवा आंशिक रूपमा सञ्चालनमा आएको छ।