सोलुखुम्बु : सोलुखुम्बुको फेरिचेमा अवतरण गर्ने क्रममा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा एक विदेशी नागरिकले ज्यान गुमाएका छन्। घटनामा घाइते भएका अर्का एक जनाको अवस्था र पहिचानबारे थप विवरण आउन बाँकी छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल एयर र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन्। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्रारम्भिक जानकारीअनुसार अवतरणका क्रममा दुवै हेलिकोप्टरका पंखा एकआपसमा ठोक्किएको बताएका छन्।
घटनाबारे थप जानकारी संकलन भइरहेको प्राधिकरणले जनाएको छ। दुर्घटनाको विस्तृत कारण र क्षतिको विवरण भने आउन बाँकी छ।