काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई वटा महत्वपूर्ण खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो १२:३० बजे सुरु हुनेछ।
प्रतियोगितामा हालसम्म तीन खेल खेलेको विराटनगरले एक जित निकाल्दा दुई खेलमा पराजय बेहोरेको छ। यता जनकपुरले तीन खेलमध्ये दुईमा जित र एकमा हार व्यहोर्दै तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेको छ। आजको खेल जित्दै दुवै टोली अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा हुनेछन्।
आजको दोस्रो खेलमा साविक विजेता लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सको सामना गर्नेछ। साँझ ५ बजे सुरु हुने यस खेलमा दुवै टोलीका लागि महत्वपूर्ण अंक जोड्ने अवसर हुनेछ।
लुम्बिनीले प्रतियोगितामा खेलेका दुई खेलमध्ये एकमा जित निकालेको छ भने चितवन राइनोजसँगको खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको थियो। लुम्बिनीले उद्घाटन खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो।
अर्कोतर्फ पोखरा एभेन्जर्सले आफ्ना सुरुवाती दुवै खेल गुमाएको छ। त्यसैले आजको खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने दबाब पोखरामाथि रहनेछ।
यसैबीच, एनपीएलअन्तर्गत हिजो सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाजले जित हासिल गरेका थिए। आठ टोली सहभागी एनपीएलको तेस्रो संस्करण आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।