काठमाडौँ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको पछिल्लो एकदिवसीय वरीयतामा अस्ट्रेलिया एक स्थान तल झर्दै पाँचौँ स्थानमा पुगेको छ। घरेलु टोली दक्षिण अफ्रिकाविरुद्ध जारी तीन खेलको एकदिवसीय शृङ्खलामा लगातार दुई खेलमा पराजित भएपछि अस्ट्रेलियाको वरीयता खस्किएको हो।
यस्तै, अस्ट्रेलियाको खस्किँदो प्रदर्शनको फाइदा उठाउँदै पाकिस्तान एक स्थान सुधार गरी चौथो स्थानमा उक्लिएको छ। हालै सम्पन्न तीन खेलको एकदिवसीय शृङ्खलामा श्रीलङ्कालाई २–१ ले पराजित गरेको इङ्ग्ल्यान्ड पनि एक स्थान सुधार गर्दै छैटौँ स्थानमा पुगेको छ। शृङ्खला गुमाएसँगै श्रीलङ्का भने एक स्थान तल झरेर सातौँ स्थानमा पुगेको छ।
वरीयताको शीर्ष स्थानमा भारत यथावत् छ भने न्युजिल्यान्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेका छन्। यता नेपाली राष्ट्रिय क्रिकेट टोली भने १७औँ स्थानमा यथावत् रहेको छ।