२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रोहितको शतक र बलरको उत्कृष्ट प्रदर्शनमा नेपालसँग क्यानडा २४ रनले पराजित

images

  • २०८३ असोज २५, आइतबार
  • 286
    SHARES
  • रोहितको शतक र बलरको उत्कृष्ट प्रदर्शनमा नेपालसँग क्यानडा २४ रनले पराजित

    काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय (ओडीआई) शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानडामाथि २४ रनको जित निकालेको छ। ओमान क्रिकेट एकेडेमी मिनिस्ट्री टर्फ–१ मा भएको खेलमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमै समेटियो।

    नेपालको जितमा कप्तान रोहित पौडेलको शतक र बलरहरूको प्रभावकारी प्रदर्शन निर्णायक बन्यो। रोहितले १२७ बलमा ८ चौका र एक छक्कासहित १०१ रन बनाए। गुल्शन झाले आक्रामक ब्याटिङ गर्दै ३४ बलमा ४८ रन जोडे भने अर्जुन कुमालले २३ रनको योगदान दिए।

    पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो। क्यानडाका अखिल कुमारले चार विकेट लिए। सुख्जिन्दर सिंहले तीन तथा जहिर शिर्जादले दुई विकेट हात पारे।

    २३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको क्यानडाका लागि आरोन जोनसनले सर्वाधिक ४४ रन बनाए। समित गोहेलले ३५ रन जोड्दा अखिल कुमार ३० रनमा अविजित रहे। श्रेयस मोभा र कप्तान हम्जा तारिकले समान २६ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।

    नेपालका करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले समान दुई विकेट लिए। नेपाली बलरहरूले नियमित अन्तरालमा विकेट लिएपछि क्यानडा लक्ष्यसम्म पुग्न असफल भयो।

    यसअघि शृङ्खलाको पहिलो खेलमा ओमानसँग पराजित भएको क्यानडाले नेपालविरुद्ध पनि हार बेहोरेको छ। यता, लिग–२ को शीर्ष चारमा पुग्ने नेपालको सम्भावना भने यसअघि नै समाप्त भइसकेको छ। त्यसैले अब नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनु मुख्य लक्ष्य बनेको छ।

    क्यानडाविरुद्धको जितसँगै नेपाल ३३ खेलबाट २६ अंक जोडेर लिग–२ को अंकतालिकामा छैटौं स्थानमा उक्लिएको छ। समान प्रतियोगितामा ३४ खेल खेलेको क्यानडा २५ अंकसहित सातौं स्थानमा झरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ