काठमाडौँ : बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालतले सजाय तोक्दै छ। पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको थियो।
आजको पेसीबाट लामिछानेको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण हुने छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो।लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ।
अदालतले पीडित किशोरी गौशाला २६ को उमेर घटना हुँदा १८ वर्ष पूरा भइसकेको पनि ठहर गरेको छ। तर, पीडित बालिग भए पनि जबरजस्ती करणी भएको जनाउँदै अदालतले लामिछानेलाई दोषी ठहर गरेको हो। सहमतिमा करणी भएको नदेखिएकाले लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१,२ र ३) (ङ) बमोजिम कसुर गरेको अदालतको ठहर छ।



