काठमाडौँ : बागमती प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोसी प्रदेशलाई जितका लागि दुई सय ७४ रनको बलियो लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएका बागमतीले ४८.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ७३ रनको योगफल बनायो। बागमतीका लागि आशुतोष घिरैयाले एक सय ११ बलमा १ सय १८ रन जोडे । उनले कूल १६ चौका र २ छक्का प्रहार गरे।
त्यसै गरी कप्तान रित गौतमले ४९, रविन जोशीले ४३ र प्रतीक श्रेष्ठले १९ रन बनाए । दोस्रो विकेटका लागि आशुतोष र रितले १ सय ३१ रनको साझेदारी गरे।
कोसी प्रदेशका अभ्यास तिमिल्सिनाले ३ विकेट लिए भने हेमन्त राई र कमल खत्रीले समान २/२ विकेट झारे। त्यस्तै फ्रिर्दोश अन्सारीले एक विकेट लिए।



