काठमाडौँ : दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप अन्तरगत सुपर सिक्सको पहिलो खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दै छ। खेल नेपाली समय अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा ब्लोमफोन्टेनमा सुरु हुनेछ।
समूह चरणका तीन खेलमा १ खेल जितेर समूहको तेस्रो स्थान कायम गर्दै नेपालले सुपर सिक्समा स्थान बनाएको हो। आजको खेलपछि नेपालले सुपर सिक्सको अर्को खेलमा भारतविरुद्ध फेब्रुअरी २ मा खेल्नेछ।
नेपाल र बङ्गलादेशबिच विश्वकपमा तेस्रो पटक आमनेसामने हुन लागेका हुन्। विश्वकपमा यी दुई बिच सन् २००२ मा न्यजिल्याण्डमा पहिलो प्रतिस्पर्धा भएको थियो। जहाँ नेपालले बङ्गलादेशलाई २३ रनले हराएको थियो। दोस्रो पटक सन् २०१६ मा बङ्गलादेशमै भएको विश्वकपमा नेपाल ६ विकेटले पराजित भएको थियो।
आइसीसी यू १९ विश्वकपमा सुपर सिक्सको खेल खेल्नु अघि नै नेपालको सेमिफाइनल सम्भावना समाप्त भएको छ। सुपर सिक्समा मङ्गलवार भारत र पाकिस्तान विजयी भएसँगै नेपालको सेमिफाइनल पुग्ने दौड सकिएको हो। अब नेपालले सुपर सिक्सका दुवै खेल जिते पनि सेमिफाइनल पुग्न सम्भव हुने छैन।
आईसीसीले समूह चरणका खेलको अङ्क समेत सुपर सिक्समा जोडेपछि नेपाललाई घाटा लागेको हो। भारत र पाकिस्तान दुवै ४ अङ्कसहित सुपर सिक्स पुगेका थिए भने नेपालको अङ्क थिएन। भारत र पाकिस्तानले खेल जितेपछि ६/६ अङ्क भएको छ। समूह १ बाट यी २ टोली नै सेमिफाइनलमा पुग्ने सम्भावना देखिएको छ। यो समूहबाट नेपालसँगै न्युजिल्याण्ड र आयरल्यान्ड पनि बाहिरिएका छन्। २ अङ्क भएको बङ्गलादेशको मात्रै झिनो सम्भावना छ।



