काठमाडौँ : काठमाडौँ महानगरपालिकाले महानगर भित्रका सार्वजनिक स्थलमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न मिल्ने झन्डै २ हजार सेट डस्टबिन राख्ने भएको छ। सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न १ हजार ९५० सेट डस्टबिन राखिने महानगरले जनाएको छ।
फोहोर दानीको एउटा सेटमा २ वटा बिन (भाँडो) हुन्छन्। यसमध्ये हरियो बिन कुहिने र रातो बिन नकुहिने फोहोरका लागि हो। उत्पादन भएकै ठाउँमा फोहोरलाई छुटाएर प्रकृतिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गर्ने योजनाअनुसार बिन राख्न लागिएको महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिनु भयो।
यसका लागि घरदैलो कार्यक्रममार्फत उत्पादकलाई वर्गीकरण विधिमा सचेत गराइने श्रेष्ठले बताउनु भएको छ। छुट्टिएको फोहोर छुट्टाछुट्टै सङ्कलन गर्न रङ्ग सङ्केतसहितको सवारी साधन तयारी गरिसकिएको पनि उहाँको भनाई छ। ‘घरघरमा फोहोर वर्गीकरण गरेजस्तै सार्वजनिक स्थलमा उत्पादन हुने फोहोरलाई पनि कुहिने र नकुहिने गरी छुट्टाछुट्टै भाँडामा सङ्कलन गर्न लागेको उहाँले बताउनु भएको छ।
यसरी राखिने सेटहरू २ प्रकारका छन्। पहिलो खाले सेट सानो आकारको हो। यसमा राखिने एउटा बिनको क्षमता ७० लिटरको हुनेछ। १.२ मिटर उचाइ, १.२३ मिटर चौडाइ र २५.५५ किलोग्राम तौलको फलामे स्ट्याण्डमा बिन राखिनेछन्। यसमा राखिने स्ट्याण्डको मूल्य ५ हजार १५० रुपैयाँ र डस्टबिन प्रति गोटा मूल्य २ हजार ९५० रुपैयाँ हो। यस्ता बिन ३ सय सेट राखिनेछन्।



